जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि पूर्ण रूपमा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको हो। स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनका अनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको र जनजीवन क्रमशः सहज बन्दै गएको निष्कर्ष निकालिएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ।
निषेधाज्ञा हटाइएसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयपछि जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार–व्यवसाय तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।






