जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।
जनकपुरधाम आइपुगेको रेल र त्यसमा सवार तीर्थयात्रीलाई सरकारी टोली तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै स्वागत गरेका छन् । स्वागतका लागि पुगेकाहरूले तीर्थयात्रीलाई फूलमाला लगाएर अभिनन्दनसमेत गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर रेललाई अयोध्याबाट जनकपुरधामका लागि बिदाइ गरेका थिए ।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गरिएको हो । यसले दुई देशबीचको परम्परागत रोटीबेटी सम्बन्धलाई थप बलियो बनाउनुका साथै धार्मिक पर्यटन र तीर्थाटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हिन्दू धार्मिक मान्यताअनुसार अयोध्या भगवान् रामको जन्मभूमि र माता जानकीको ससुराली हो भने जनकपुरधाम माता जानकीको माइती तथा भगवान् रामको ससुराली मानिन्छ । रेल सेवाले यी दुई धार्मिक नगरीबीचको त्रेतायुगीन सम्बन्धलाई आधुनिक यातायातमार्फत जोड्ने विश्वास गरिएको छ ।












