काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नियमन र निर्देशनहरूको उल्लंघन गर्ने तीनवटा वाणिज्य बैंकलाई सचेत गराएको छ ।

केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले गरेको पछिल्लो अनुगमनका क्रममा गम्भीर त्रुटि भेटिएपछि प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई सचेत गराइएको हो । ।

ADVERTISEMENT

प्रभु बैंकमा संस्थागत सुशासनको चरम अभाव र नियामक निर्देशनको पटक–पटक अवज्ञा भएको पाइएको छ । राष्ट्र बैंकका अनुसार बैंकले कर्जा वर्गीकरणमा चरम लापरबाही गरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र केन्द्रीय बैंकलाई गलत विवरण बुझाएको भेटिएको छ ।

यसै कारण बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पाँच लाख रुपैयाँ नगद जरिवाना गरिएको छ । कोर बैंकिङ सिस्टमको डाटा र राष्ट्र बैंकमा पठाइएको विवरण फरक पारेर वास्तविक अवस्था लुकाउन खोजेको भन्दै यो कारबाही गरिएको हो ।

ADVERTISEMENT

साथै, पटक–पटकको निर्देशनपछि पनि सुधार नदेखिएको भन्दै बैंकको सञ्चालक समितिलाई कबुलियतनामा समेत गराएर सुधारात्मक योजना लागू गर्न बाध्य पारिएको छ । पछिल्लो समय प्रभु बैंक निकै समस्यामा परेको छ ।

हालै मात्र बैंककी वरिष्ठ कर्मचारी रश्मी पन्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनीमाथि कर्जा दिँदा बद्नियत गरेकोलगायतका आरोप लागेको छ ।