काठमाडौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस विवरणअनुसार नेपाली फिल्म ‘रोल नं १’ ले १ करोड ७८ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ भने ‘भागदौड’ वर्षकै कमजोर व्यापार गर्ने फिल्म बनेको छ।

साउन ३ गतेसम्मको विवरणअनुसार जेठ १५ गतेदेखि प्रदर्शनमा रहेको ‘रोल नं १’ ले १ करोड ७८ लाख २३ हजार ९०८ रुपैयाँ ग्रस कमाइ गरेको छ। प्रदर्शनको ५१ दिनसम्म आइपुग्दा फिल्मका ७१ हजार ३६९ टिकट बिक्री भएका छन्।

ADVERTISEMENT

जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी र रिन्चेन लामालगायत कलाकारको अभिनय रहेको छ।

यता, असार २६ गतेदेखि सीमित शोसहित प्रदर्शनमा आएको ‘भागदौड’ले भने १० दिनसम्म १ लाख रुपैयाँ पनि कमाउन सकेन। बोर्डका अनुसार फिल्मले साउन ३ गतेसम्म ९२ हजार ९९५ रुपैयाँ ग्रस कमाइ गरेको छ भने ४०९ टिकट मात्र बिक्री भएका छन्।

ADVERTISEMENT

योसँगै ‘भागदौड’ यस वर्षकै सबैभन्दा कम व्यापार गर्ने नेपाली फिल्म बनेको छ। यसअघि ‘जाँड’ले १ लाख २६ हजार रुपैयाँ ग्रस कमाउँदै कमजोर व्यापार गर्ने फिल्मको सूचीमा रहेको थियो।