काठमाडौँ । सरकारले बिजनेस दिन नसकेपछि १५ दिनका लागि स्थगित प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग पाँचवटा माग राखेका छन् ।

अर्यालले प्रतिनिधिसभालाई प्रभावकारी र मर्यादित बनाउन दलहरुको सहयोग मागेका बेला विपक्षीले आफ्ना चासोहरु राखेका हुन् । दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा प्रधानमन्त्रीको भारतले पनि नेपालको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्तिमा स्पष्टीकरण दिनुपर्ने पहिलो माग विपक्षीको छ ।

ADVERTISEMENT

नेकपाका प्रमुख सचेतक युवराज दुलालकाअनुसार छलफलमा सभामुख अर्यालले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई सदनमा भइरहेको विरोध हटाउन अनुरोध गरेकामा विपक्षी दलका सचेतकहरुले प्रधानमन्त्रीले सदनलाई आएर सम्बोधन गर्नुपर्ने र अभिव्यक्तिबारे प्रष्टीकरण दिएर सौहार्दपूर्ण तरिकाले बैठक चल्ने वातावरण बनाउनुपर्ने धारणा राखेका छन् ।

यस्तै, विपक्षी दलहरुले नियमावलीमा भएको प्रत्येक महिनाको पहिलो साता सञ्चालन हुनुपर्ने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयनमा ल्याउनुपर्ने, सांसदले उठान गरेका प्रश्नको मन्त्रीहरुले जवाफ दिनुपर्ने माग गरेका थिए ।

ADVERTISEMENT

सदनमा एउटा सांसदले उठाएको विषयको जवाफ अर्को सांसदले दिने अवस्था अन्त्य गरिनुपर्ने र यसले संसदलाई राम्रो नबनाएको धारणा विपक्षी सांसदको थियो । बिहीबारबाट बैठक सुरु हुन लागेको तर संसदमा विधेयक नै नरहेको विषय पनि उठाउँदै सरकारलाई आह्वान गर्न सत्ता पक्षलाई आग्रह गरेका थिए ।

कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीलाई सदनप्रति जवाफदेही बनाउने प्रयास रहिरहने र सीमाको अभिव्यक्तिको विषय उठाइरहने बताइन् । छलफलमा सत्ता पक्षले प्रधानमन्त्रीसँग कुरा गर्ने भनेकाले समस्या समाधान हुने आशा व्यक्त गरिन् ।

सीमाको बारेमा अभिव्यक्ति दिन अप्ठेरो लागे सदनमा आएर सम्बोधन गर्ने र त्यहीबाट सीमाको अभिव्यक्ति पनि समेटिदिए हुने उनको भनाइ थियो ।