नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धादिङका एक व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शंकास्पद वित्तीय गतिविधि देखिएपछि राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपम शमशेर ज.ब.रा.का अनुसार प्रारम्भिक अनुसन्धानमा रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी हुण्डीमार्फत रु १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको कारोबार गरेको देखिएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि रिजाललाई नियन्त्रणमा लिइएको हो।

सीआईबीले २०८३ साउन १२ गते काठमाडौं महानगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट ४९ वर्षीय रिजाललाई पक्राउ गरेको जनाएको छ। उनी धादिङको साविक सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका छन्।

ADVERTISEMENT

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। सीआईबीका अनुसार हुण्डी गैरकानुनी आर्थिक कारोबारअन्तर्गत पर्ने भएकाले यसमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइनेछ।