काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बितिसक्दा पनि बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटेको छैन। प्रदेश सरकारले भाडा समायोजन नगर्दा यात्रुहरू पुरानै महँगो भाडा तिर्न बाध्य भएका छन्।
नेपाल आयल निगमले गत असार १७ गते मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। त्यसपछि सङ्घीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि बागमती प्रदेशभित्र सञ्चालन हुने सवारीसाधन र काठमाडौं उपत्यकाका सार्वजनिक यातायातको भाडा भने यथावत् रहेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि प्रदेश सरकारले भाडा समायोजनमा चासो नदेखाएको गुनासो गरे। उनले वैज्ञानिक आधारमा तत्काल भाडा समायोजन गर्नुपर्ने माग राख्दै आएका बताए।
बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको नाम र जिम्मेवारी परिवर्तन भएका कारण केही ढिलाइ भएको बताए। उनले अब केही दिनभित्रै प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तयारी भइरहेको जानकारी दिए।
यातायात व्यवस्था विभागले भने गत असार १८ गते अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको थियो। विभागले डिजेलको औसत मूल्य घटेपछि स्वचालित प्रणालीअनुसार नयाँ भाडा निर्धारण गरिएको जनाएको थियो।





