काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको साविककै मूल्य कायम राखेको हो।
निगमले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार आईओसीबाट २०८३ असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले हाल कायम बिक्री मूल्यलाई निरन्तरता दिइएको छ।
निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पेट्रोलको पहिलो वर्गको मूल्य प्रतिलिटर १९७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १९९ रुपैयाँ र तेस्रो वर्गको २०० रुपैयाँ कायम छ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर रहेको छ।
हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।
निगमका अनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको छ।











