काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १७९ दिनका लागि बोलकबोल माध्यमबाट उक्त रकम संकलन गर्न आह्वान गरेको हो ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

ADVERTISEMENT

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकताका आधारमा क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ ।

ADVERTISEMENT

निक्षेप संकलनका लागि सोमबार अर्थात् आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने भएको छ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी माघ ८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

ADVERTISEMENT

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।