काठमाडौँ । चिकित्सक शिक्षाका अभियन्ता डा.गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल सुरु गरेको छ ।

केसीका सहयोगी डा. अमृत जैशीका अनुसार केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भएको हो ।

ADVERTISEMENT

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा सचिव चुडामणि पौडेल र स्वास्थ्य सचिव डा.विकास देवकोटा सहभागी छन् । केसीका तर्फबाट उनका सहयोगी डा. अमृत जैशी र पवन थापा सहभागी छन् ।

सरकारलाई साउन ५ गतेसम्म माग सम्बोधन गर्न समय दिए पनि त्यसलाई बेवास्ता गरिएको उल्लेख गर्दै केसीले साउन ७ गतेदेखि अनशन सुरु गरेका हुन् । उनले गेटा विश्वविद्यालय अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी कम्तीमा तीन सय शय्याको सेवा तत्काल सुरु गर्नुपर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गरी एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

ADVERTISEMENT

साथै, दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका भनिएका स्वार्थ बाझिने नियुक्ति खारेज गर्नुपर्ने तथा ऐन संशोधन नभएसम्म स्वार्थ नबाझिने अन्तरिम नेतृत्वको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा पूर्वाधार र मापदण्ड नपुगेका निजी कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।
सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि बाह्य मुलुकमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने माग पनि राखेका छन् ।