काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले हाल विद्यमान कानुनअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक सम्पन्न गर्न नसकिने बताएका छन्।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कार्कीले दुई तहको निर्वाचन एकैसाथ गर्न कानुनी जटिलता रहेको बताएका हुन्।
‘अहिलेको कानुनअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गर्न सकिँदैन। यदि राज्यले एकै पटक निर्वाचन गर्ने नीति लिने हो भने त्यसका लागि कानुन संशोधन अनिवार्य हुन्छ,’ कार्कीले समितिमा भने।
उनका अनुसार निर्वाचनसम्बन्धी विद्यमान कानुनी व्यवस्था र प्रक्रियाका कारण स्थानीय तह तथा प्रदेशसभाको निर्वाचन एउटै समयमा सञ्चालन गर्न चुनौती रहेको छ।
कार्कीले निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कानुनी सुधार र स्पष्ट नीतिगत निर्णय आवश्यक पर्ने संकेत गरेका छन्। उनले निर्वाचन आयोगले संविधान र प्रचलित कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए। प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस भएका कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अहिले जारी रहेको छ।






