काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्नुपर्ने वा जेल जानुपर्ने अवस्था आए पनि सन् २०२६ को डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन्।
भारतमा निर्वासनमा रहँदै आएकी ७८ वर्षीया हसिनाले एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा आफू भविष्यका सम्भावित जोखिमबारे पूर्णरूपमा जानकार रहेको बताउँदै मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने उल्लेख गरेकी हुन्।
उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको दाबी गर्दै स्वदेश फर्किएपछि जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहेको बताएकी छन्।
विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ अगस्टमा हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको थियो। आन्दोलन चर्किएपछि भीडले प्रधानमन्त्री निवास घेरेको थियो भने हसिना हेलिकोप्टरमार्फत भारत पुगेकी थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन नियन्त्रण गर्ने क्रममा भएको हिंसामा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो।
गत नोभेम्बरमा ढाकास्थित अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। हसिनाले उक्त निर्णयलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै अस्वीकार गरेकी छन्।
भारतमा गोप्य स्थानमा बस्दै आएकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नरहेको बताएकी छन्। बङ्गलादेशले भारतसँग सुपुर्दगी माग गरे पनि आफ्नो स्वदेश फर्किने निर्णय त्यससँग सम्बन्धित नभएको उनको भनाइ छ।
मानवअधिकार संस्थाहरूले हसिना नेतृत्वको सरकारमाथि विपक्षी दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप र विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन्। तर हसिनाले ती आरोप अस्वीकार गर्दै आफू नेतृत्वको सरकारले कानुनी प्रक्रिया पालना गरेको दाबी गरेकी छन्।
उनले विद्यार्थी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि अस्वीकार गरेकी छन्। आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन नभई योजनाबद्ध राजनीतिक अभियान भएको उनको आरोप छ।
हसिनाले स्वदेश फर्किएपछि अवामी लिगमार्फत पुनः सक्रिय राजनीति गर्ने वा नगर्ने विषयमा भने स्पष्ट धारणा सार्वजनिक गरेकी छैनन्। उनले आफ्नो उद्देश्य सत्ता प्राप्ति नभई जनताको सेवा गर्नु रहेको बताएकी छन्।





