काठमाडौं । अभिनेता राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी र नागरिकबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै हमालले समयसँगै सवारीसाधनको संख्या तीव्र रूपमा बढे पनि सोही अनुपातमा सडक तथा अन्य पूर्वाधार विकास हुन नसक्दा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए।

ADVERTISEMENT

उनले आधुनिक प्रविधिको प्रयोग र समयसापेक्ष पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नागरिक र ट्राफिक प्रहरीबीचको सहकार्यबाट मात्रै सडक व्यवस्थापन प्रभावकारी बन्न सक्ने धारणा राखे।

सडकमा देखिने हतारो प्रवृत्तिबारे चर्चा गर्दै हमालले ‘पहिला म’ भन्ने सोच त्यागेर ‘पहिला तपाईं’ भन्ने संस्कार विकास गर्न सके ट्राफिक जाम स्वतः कम हुने बताए। सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्ने तर पालैपालो अघि बढ्ने संस्कारले सडकलाई व्यवस्थित बनाउने उनको भनाइ थियो।

ADVERTISEMENT

हमालले सडक विस्तार मात्रै ट्राफिक समस्याको समाधान नभएको पनि बताए। विश्वका धेरै विकसित मुलुकमा नेपालभन्दा साँघुरा सडक भए पनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण दिँदै उनले सक्षम व्यवस्थापन नै ट्राफिक सुधारको मुख्य आधार भएको उल्लेख गरे।

ट्राफिक नियमको पालना सबैको हितमा रहेको बताउँदै उनले समाजका सबै तह र तप्काले जिम्मेवारीपूर्वक नियम पालना गरे काठमाडौंसहित देशभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बन्न सक्ने विश्वास व्यक्त गरे।