काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता भएका छन् भने जलविद्युत् केन्द्रमा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण स्थानमा फसेका छन्।

मंगलबार राति आएको बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गाई–बाख्राको गोठसहित बगाएको वडा नं. ९ का अध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएका छन्। उनीहरू रहेको स्थानसमेत असुरक्षित रहेको र खोलामा निरन्तर बाढी आइरहेकाले तत्काल उद्धार गर्न कठिनाइ भइरहेको उनले बताए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मनोज लामाका अनुसार प्रहरी सिंगटी र रोल्वालिङ क्षेत्रबाट पैदलै घटनास्थलतर्फ गइरहेको छ।

ADVERTISEMENT

उनले दुर्गम भौगोलिक अवस्थाका कारण घटनास्थल पुग्न केही समय लाग्ने बताउँदै प्रहरी पुगेपछि मात्रै घटनाबारे थप विवरण प्राप्त हुने जानकारी दिए।

स्थानीयका अनुसार बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। साथै खोलाले दुवैतर्फको जमिन कटान गरेपछि आसपासका बस्तीमा समेत त्रास फैलिएको छ।