पूर्वी नवलपरासी, २९ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुवाँको मुस्लो निस्किरहेको छ। जमिनमुनिबाट धुवाँ निस्कने क्रम नरोकिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा करिब दुई वर्षअघि पहिरो गएको थियो। स्थानीयका अनुसार सोही पहिरो गएको क्षेत्रबाट गत चैतदेखि निरन्तर धुवाँ निस्किरहेको छ।

ADVERTISEMENT

स्थानीय दानबहादुर राना मगरका अनुसार धुवाँ निस्किएको स्थानमा सुकेको घाँस तथा दाउरा राख्दा आफैँ आगो बल्ने गरेको छ। धुवाँको गन्धसमेत असामान्य रहेको र त्यसका कारण नजिकका बस्तीका मानिसलाई श्वास फेर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ।

ADVERTISEMENT

१८ वर्षअघि पनि निस्किएको थियो धुवाँ

स्थानीयका अनुसार घाँगी भीरको दक्षिणी क्षेत्रमा करिब १८ वर्षअघि पनि यस्तै गरी धुवाँ निस्किएको थियो। केही समयपछि उक्त स्थानमा आफैँ धुवाँ निस्कन बन्द भएको थियो। अहिले भने त्यही क्षेत्रभन्दा फरक स्थानबाट पुनः धुवाँ निस्कन थालेको स्थानीयले बताएका छन्।

घाँगी भीर आसपासको क्षेत्र फलाम खानीका लागि समेत परिचित रहेको स्थानीयको भनाइ छ। धुवाँ निस्किरहेको स्थानको तल्लो भागमा रहेको खोलाको किनार पहेँलो देखिएको छ भने पानीको स्वादसमेत फरक रहेको स्थानीयले बताएका छन्।

ADVERTISEMENT

७० वर्षीय स्थानीय गमबहादुर सुनारी मगरका अनुसार उनका बाजेको पालामा यस क्षेत्रमा फलाम निकाल्ने र त्यसबाट खुकुरीलगायतका सामग्री बनाउने गरिन्थ्यो।

बस्तीमा त्रास

धुवाँ निस्किरहेको स्थानबाट करिब ५०० मिटरको दूरीमा रहेको पेलेगा गाउँमा ४४ घरधुरी बसोबास गर्छन्। पहिरो गएको स्थानबाट लगातार धुवाँ निस्कन थालेपछि बस्ती नै जोखिममा पर्न सक्ने भन्दै स्थानीय चिन्तित छन्।

स्थानीयका अनुसार पानी पर्दासमेत धुवाँ निस्कन रोकिँदैन। रातको समयमा समेत जमिनमुनिबाट धुवाँ निस्किरहँदा आगलागी वा पहिरोका कारण बस्तीमा क्षति पुग्न सक्ने डरले कतिपय स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्।

स्थानीयले घाँगी भीर आसपास फलाम खानी रहेको र जमिनमुनि ग्यास वा अन्य धातुजन्य पदार्थको उपस्थितिका कारण यस्तो घटना भएको हुन सक्ने आशंका गरेका छन्। तर धुवाँ निस्कनुको वास्तविक कारण भने अहिलेसम्म पुष्टि भएको छैन।

अध्ययनका लागि सरकारको ध्यानाकर्षण

लामो समयदेखि धुवाँ निस्किरहेको विषयमा स्थानीयले जानकारी गराएपछि यसको विस्तृत अध्ययनका लागि केन्द्र सरकारसँग अनुरोध गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

उनका अनुसार स्थलगत अनुगमन गर्दा भासिएको जमिनबाट धुवाँ निस्किरहेको र आसपासका बोटबिरुवासमेत पोलिएको अवस्थामा भेटिएको थियो।

पाण्डेले जमिनमुनिबाट लामो समयसम्म निरन्तर धुवाँ निस्कनु सामान्य घटना नभएको भन्दै यसको वैज्ञानिक अध्ययन गरी वास्तविक कारण पत्ता लगाउनुपर्ने बताइन्।

यस विषयमा नवलपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजन गौतमले समेत संसद्मा आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराएका थिए।

घाँगी भीरमा देखिएको असामान्य गतिविधिको कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागले अध्ययन गर्ने तयारी गरेको छ। अध्ययनपछि मात्र धुवाँ निस्कनुको वास्तविक कारण तथा स्थानीय बस्तीमा त्यसबाट पर्न सक्ने जोखिमबारे यकिन हुने अपेक्षा गरिएको छ। स्थानीय भने अध्ययनलाई छिटो अघि बढाएर सम्भावित जोखिमको पहिचान तथा आवश्यक सुरक्षा उपाय तत्काल अपनाउनुपर्ने माग गरिरहेका छन्।