काठमाडौँ । असारमा घरजग्गा कारोबार बढेको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व संकलनसमेत गत असार महिनामै भएको हो ।
असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व संकलन भएको छ । विभागले वर्षभरको विवरणअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व संकलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व संकलन हो ।
विभागका अनुसार २०८२ साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व संकलन भएको थियो । भदौमा केही घटेर तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरमात्रै प्राप्त भएको थियो ।
असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।
गत मङ्सिरमाचार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ बराबर राजस्व संकलन भएको थियो । माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।
त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।
गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व संकलनमा पनि वृद्धि भएको थियो । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ । कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व संकलन भएको बताइन्छ ।










