काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनले देशभर घरजग्गा कारोबारमा उल्लेखनीय सुधार आएको देखाएको छ। प्रतिवेदनअनुसार समीक्षा अवधिमा कुल १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १०० अर्ब ७ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

प्रतिवेदनअनुसार तेस्रो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो। लिखतपारितअन्तर्गतको राजीनामा कारोबार पनि १२.१७ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

घरजग्गा कारोबारबाट सरकारले संकलन गरेको राजस्व २३.७२ प्रतिशत र पुँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

ADVERTISEMENT

प्रादेशिक रूपमा हेर्दा बागमती प्रदेशमा राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ। कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको छ, जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत वृद्धि भएको छ।

ADVERTISEMENT

महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा (८२.१५ प्रतिशत), ललितपुर (७३.८१ प्रतिशत), वीरगञ्ज (३१.०७ प्रतिशत), भरतपुर (२९.२१ प्रतिशत) र विराटनगर (२७.९२ प्रतिशत) रहेका छन्। कारोबारको कुल मूल्यमा पनि काठमाडौं महानगरपालिका अग्रस्थानमा रहेको छ, जहाँ २२३.१२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

ADVERTISEMENT

उपमहानगरपालिकामध्ये बुटवलमा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ। कलैया उपमहानगरपालिकामा भने कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ। कारोबारको कुल मूल्य भने ११ वटै उपमहानगरपालिकामा वृद्धि भएको छ, जसमा तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै १३४.४६ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।