काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित देशका विभिन्न भागमा पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा मुसलधारे वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका २३ जिल्लालाई उच्च जोखिममा राख्दै रेड अलर्ट जारी गरेको छ। कोशीका झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ, बागमतीका चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिममा रहेका छन्।

ADVERTISEMENT

महाशाखाले सम्भावित अति भारी वर्षाका कारण नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ADVERTISEMENT