काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो हिमाली र पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

ADVERTISEMENT

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थान, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति पनि हिमाली र पहाडी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराईका विभिन्न क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

ADVERTISEMENT