काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट निम्तिन सक्ने बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ।
आगामी शुक्रबारदेखि आइतबार अर्थात् असोज ८, ९ र १० गतेसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाइएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ।
सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उप्रेतीले बताए।
उनका अनुसार पानी परिरहेको अवस्था र नदीको जलसतहको विवरण रियल टाइममा हेर्ने व्यवस्था गरिएको छ। जोखिम बढे नागरिकको मोबाइलमा एसएमएसमार्फत अलर्ट पठाइने भएकाले प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ।
समुद्रमा बन्ने ठूलो आँधी अर्थात् साइक्लोन प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई समेत प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ।
मौसम प्रणाली तीव्र गतिमा परिवर्तन हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई ध्यानमा राख्दै ‘रेड अलर्ट’ जारी गरिएको छ। मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा भने मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।
जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ ओर्लिन आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहनसमेत एडभाइजरी जारी गरिएको छ।
विपद्को जोखिम बढे राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा निषेध गर्न सकिने प्राधिकरणले जनाएको छ। शुक्रबार र शनिबार अत्यावश्यकबाहेक यात्रा नगर्न यात्रुलाई आग्रह गर्ने तथा यातायात व्यवसायीलाई समेत सेवा सञ्चालन नगर्न अनुरोध गर्ने तयारी गरिएको छ।
पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशका मुख्य राजमार्गमा सडक तत्काल खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ। वर्षाले कृषि क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ। यससम्बन्धी कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरीसमेत जारी भइसकेको छ।
प्राधिकरणले बाढीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने कार्यसमेत जोखिमपूर्ण भएकाले त्यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी तथा प्रतिकार्यको तयारीसमेत तीव्र पारिएको प्राधिकरणले जनाएको छ।







