काठमाडौं — बहुप्रतीक्षित हलिउड फिल्म ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ बिहीबारदेखि नेपालभर प्रदर्शनमा आउँदै छ। प्रदर्शनअघि नै फिल्मले अग्रिम टिकट बिक्रीमार्फत उत्साहजनक व्यापार गरेको छ।

नेपालमा फिल्मको वितरण गरिरहेको एप्पल इन्टरटेनमेन्टका अनुसार बुधबार मध्याह्नसम्म फिल्मले अग्रिम बुकिङबाट २ करोड ६८ लाख रुपैयाँ बराबरको टिकट बिक्री गरिसकेको छ।

ADVERTISEMENT

आगामी आइतबारसम्मका लागि पनि सोही मूल्य बराबरको टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ। फिल्म पहिलो दिन देशभरका ५२ वटा सिनेमा हल मा प्रदर्शन हुनेछ।

ADVERTISEMENT

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकाभित्र मात्रै ९६ शो उपलब्ध गराएको छ भने केही हलमा पहिलो दिन १५ वटासम्म शो राखिएको छ। अन्य मल्टिप्लेक्सहरूले पनि फिल्मलाई उल्लेख्य शो दिएका छन्।

एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले विदेश तथा भारतमा फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँदै नेपालमा पनि दर्शकको उत्साह उच्च रहेको जानकारी दिइन्। उनका अनुसार यसपटक दर्शकको मागलाई ध्यानमा राखेर फिल्मको हिन्दी डब संस्करण पनि प्रदर्शन गरिनेछ।

ADVERTISEMENT

डेस्टिन ड्यानियल क्रेटन निर्देशित फिल्ममा टम हल्याण्ड, जेन्डाया, सेडी सिंक, ज्याकोब बाटालोन, जोन बर्नथल, ट्रामेल टिलम्यान, माइकल म्यान्डो र मार्क रफालोलगायत कलाकारको अभिनय रहेको छ।

स्टान ली र स्टिभ डिट्कोको कमिक पात्रमा आधारित फिल्मको पटकथा क्रिस म्याककेना र एरिक सोमर्सले लेखेका हुन्। ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ टम हल्याण्डको चौथो एकल स्पाइडर–म्यान फिल्म तथा मार्भल सिनेमाटिक युनिभर्समा उनको सातौँ उपस्थिति हो।

यसअघि चार वर्षअघि प्रदर्शनमा आएको ‘स्पाइडर–म्यानः नो वे होम’ ले नेपालमा पनि उल्लेखनीय व्यापार गरेको थियो। यता, हाल प्रदर्शनरत नेपाली फिल्म ‘गौंथली’ ले ८ करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको अवस्थामा नयाँ हलिउड फिल्मको आगमनले बक्स अफिस प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।