काठमाडौं । विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत र चीन अहिले पनि रणनीतिक प्रतिद्वन्द्वी हुन् ।

यी दुई देशबीच एसियामा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् । तर, सन् २०२० मा हिमालयन सीमामा भएको हिंसात्मक झडपपछि बिग्रिएको सम्बन्धमा विस्तारै नरमी आएको छ ।

ADVERTISEMENT

यसैअन्तर्गत आइतबारदेखि दुवै देशबीच सिधा विमान सेवाहरू सुरु भएका छन् । भारत सरकारले उडानहरूको पुनर्स्थापनाले मानिसहरूका बीचको सम्पर्क बढाउने र द्विपक्षीय आदानप्रदानको सामान्यीकरण गर्नमा मद्दत गर्ने बताएको छ ।

चीनसँगको सम्बन्धमा यो न्यानोपन यस्तो समयमा आएको छ जब भारतका प्रमुख व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्धका कारण तनावमा छ ।

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतमाथि ५० प्रतिशत दण्डात्मक ट्यारिफ लगाउने आदेश दिएका थिए । ट्रम्पका सहयोगीहरूले भारतमाथि रूसबाट तेल किनेर युक्रेनमा चलिरहेको युद्धलाई बढावा दिएको आरोप लगाएका छन् ।

भारतको कमर्सियल एयरलाइन इन्डिगोले आइतबार राति १० बजे कोलकाताबाट चीनको सहर ग्वाङ्झाउका लागि पहिलो दैनिक उडान सुरु गर्नेछ ।

भारत र हङकङबीच पहिलेदेखि नियमित उडानहरू चलिरहेका छन् । यसबाहेक, राजधानी नयाँ दिल्लीबाट सांघाई र ग्वाङ्झाउका लागि सिधा सेवाहरू नोभेम्बरमा सुरु गरिने बताइएको छ ।भारतीय चेम्बर अफ कमर्स, कोलकाताका अध्यक्ष राजीव सिंहले एएफपीलाई भने, “सिधा हवाई सम्पर्कले लजिस्टिक्स र ट्रान्जिट समयलाई कम गर्नेछ । यसबाट व्यापारीहरूलाई धेरै फाइदा हुनेछ ।”

भारतको पूर्वी बन्दरगाह सहर कोलकाताको चीनसँग ऐतिहासिक सम्बन्ध ब्रिटिस शासनकालदेखि नै रहेको छ, जब चिनियाँ व्यापारीहरू यहाँ आएर बसेका थिए ।

यी आप्रवासीहरूको उपस्थितिले सहरको संस्कृति र खानपानमा गहिरो छाप छोडेको छ । आज पनि इन्डो–चाइनीज भोजन कोलकाताको पहिचानको एक अभिन्न हिस्सा हो ।

कोलकाताको टांगरा इलाकास्थित चाइनाटाउन समुदायका नेता चेन खोय कुईले भने, “हामी जस्ता मानिसहरूका लागि यो धेरै राम्रो खबर हो, जसका नातेदारहरू चीनमा बस्छन् । हवाई सम्पर्कले व्यापार, पर्यटन र व्यावसायिक यात्रालाई बढावा दिनेछ ।”