काठमाडौं । सुनसरीको देवानगन्जलगायतका स्थानमा भएका घटनाका विषयमा छलफल गर्न बुधबार बिहान रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाए । संसदभित्र र बाहिर रहेका नौवटा दलको बैठकमा सहभागिता थियो । तर रास्वपाकै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन अनुपस्थित रहे । बैठकमा गृहमन्त्री सुधन गुरुङसमेत उपस्थित भएनन् । बरु अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी भए ।

सर्वदलीय बैठकमा सहभागी नभएको भन्दै अहिले प्रधानमन्त्री बालेनको चौतर्फी आलोचना भइरहेको छ । देशमा प्रधानमन्त्री नै नभएको हो कि भन्ने ढंगले व्याख्या भइरहेको छ । कतिपयले रास्वपा सभापति रवि लामिछानेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गरेको भनेर समेत विश्लेषण गरेका छन् ।

ADVERTISEMENT

सर्वदलीय बैठक सकेर कांग्रेस कांर्गालय पुगेर गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिएका रवि लगत्तै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे । उनले सर्वदलीय बैठकमा भएका छलफल र सुनसरीमा भएका घटनाबारे बेलिविस्तार लगाए । यो काम मूलत: प्रधानमन्त्रीको हो । तर अहिलेसम्म बालेन शीतल निवास पुगेका छैनन् । सिंहदरबारमा आयोजित औपचारिक कार्यक्रममा बाहेक उनले राष्ट्रपति पौडेललाई भेटेका समेत छैनन् ।

केही दिनयता उनले निजी क्षेत्र, उद्योगी व्यवसायी, लगानीकर्तासँग भेट गरे पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाहेक कुनै पनि राजनीतिक दलका नेतासँग सवाद गरेका छैनन् । जसले गर्दा प्रधानमन्त्री बालेनमा शासन सत्ता चलाउने अनुभवको कमी भएको विश्लेषण हुन थालेको छ ।
सर्वत्र खोजी भएका प्रधानमन्त्री बालेन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चिकित्सा शिक्षा आयोगको २७औँ बैठकमा देखिए । उनले आजै मन्त्रिपरिषद् बैठक पनि राखेका छन् ।

ADVERTISEMENT

यही बीचमा प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने समाचार बाहिरिएको छ । महासभामा विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुख सहभागी हुने गरेका छन् । र, आफ्नो देशले गरिरहेका काम र विश्वमा देखिएको समस्याबारे जानकारी गराउने चलन छ । विगतमा नेपालबाट अपवादबाहेक सबै प्रधानमन्त्री मात्र राष्ट्रसंघको महासभामा जाने गरेका छन् । तर प्रधानमन्त्री बालेन जजाने, परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने कुराले कूटनीतिज्ञ र बुद्धिजीवी असन्तुष्ट बनेका छन् ।

संयुक्त राष्ट्रसंघको वार्षिक महासभा आगामी सेप्टेम्बरमा हुने छ । परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तयारी छ । तर, परराष्ट्र मन्त्रालयका सम्बन्धित महाशाखा र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगलाई तयारी अघि बढाउन निर्देशन दिइसकिएको छ ।’

संयुक्त राष्ट्रसंघको महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ मा हुनेछ भने उच्चस्तरीय बैठक सेप्टेम्बर २२ देखि सुरु हुनेछ । गत चैत १४ मा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेयता प्रधानमन्त्री शाहले कुनै पनि विदेश भ्रमण गरेका छैनन् । उनको पहिलो विदेश भ्रमण कुन देशबाट सुरू हुनेछ भन्ने पनि अझै टुंगो लागेको छैन ।

भारतले मंगलबार मात्रै बालेनलाई औपचारिक भ्रमणको निम्तो दिएको सार्वजनिक गरेको थियो । तर अहिलेसम्म नेपालले त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।