काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तराई आसपास र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको छ।
मनसुनको सक्रिय प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसबाहेक कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेश, कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।







