काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा देशको पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वी क्षेत्रमा सरदर स्थान आसपास रहेको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै र तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।

ADVERTISEMENT

कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुनले फेरि आफ्नो वार्षिक ‘काममा फर्किएको’ संकेत दिएको छ—छाता र सावधानी दुवै तयार राख्नु बुद्धिमानी हुनेछ।