काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

ADVERTISEMENT

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।