काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालका तराई क्षेत्रनजिक रहेकाले यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

ADVERTISEMENT

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ADVERTISEMENT