काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेपको वृद्धिदर सन्तोषजनक रहँदा कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै ६ बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर केही बिन्दुले घटाएका हुन्।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंकलगायतका १३ वटा बैंकहरूले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।
समीक्षा अवधिमा नेपाल बैंकले भने व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशतविन्दुको वृद्धि गरी ४ प्रतिशत पुऱ्याएको छ।
बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतविन्दुबाट घटेर साउनमा ४.१६७५ प्रतिशतविन्दुमा झरेको छ। संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएर ४ प्रतिशत कायम गरेको छ।
असारको तुलनामा साउनमा एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।





