काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला श्रीराम ग्यास उद्योगको हरिसिद्धिस्थित डिपोमा ठूलो परिमाणमा ग्यास सिलिन्डर स्टक गरेर राखिएको फेला परेको छ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको अनुगमन टोलीले डिपोमा १४.२ केजी क्षमताका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर मौज्दात अवस्थामा राखिएको भेटाएको हो।
अनुगमनका क्रममा उद्योगले ती सिलिन्डर बजारमा पठाउन आनाकानी गर्दै डिपोमै थुपारेर राखेको पाइएपछि उपभोक्तालाई मर्का पर्ने गरी कृत्रिम अभाव सिर्जना गरेको ठहर गरिएको विभागले जनाएको छ।
यस कार्यलाई उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ मान्दै सोही ऐनको दफा ३९ (१) (ख) अनुसार उद्योगलाई तत्काल ३ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जानकारी दिएको छ।विभागले जरिबाना मात्र नभई मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा तत्काल उपभोक्तालाई बिक्री–वितरण गर्न निर्देशन दिएको छ।
विभागका अनुसार सहज रूपमा ग्यास आपूर्ति हुनुपर्ने अवस्थामा अनावश्यक रूपमा सिलिन्डर जम्मा गरेर कृत्रिम अभाव सिर्जना गरिएको बताएका छन्। “बजारमा ग्यासको हाहाकार छ, तर यहाँ ६ हजारभन्दा बढी सिलिन्डर थुप्रिएका छन्। यो स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो।
विभागका अनुसार बजारमा ग्यास नपाएर सर्वसाधारणले घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको बेला ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानुनी हो।अनुगमनका क्रममा गरिएको कारबाहीको उद्देश्य सजाय मात्र नभई बजारमा लुकाइएको ग्यास बाहिर ल्याउनु र अन्य उद्योगलाई पनि सचेत गराउनु रहेको ज्ञवालीले स्पष्ट पारे। “कसैले पनि स्टक राखेर बजारमा अभाव देखाउनु हुँदैन भन्ने सन्देश दिन यो कारबाही गरिएको हो,” उनले भने।यसैबीच श्रीराम ग्यासका बिक्रेताहरूले उद्योगबाट ग्यास आपूर्ति नभएकाले उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नपाएको बताएका छन्।
विभागले बजारमा अभाव भइरहेका बेला अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको र कसैले कालोबजारी वा होल्डिङ गरेको पाइए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।








