काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच सहमति जुट्न सकेको छैन । जसकारण उनको शव शिक्षण अस्पतालमै छ ।
सरकारी पक्षको तर्फबाट जिल्ला प्रशासन कार्यालयले नेपाली परिवारसँग ६ बुँदे सहमति प्रस्ताव राखेको थियो ।
जसमा ह्वील लक लगाउने नगर प्रहरी र ट्राफिक प्रहरीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन, गणेशलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहिद घोषणा गर्न, परिवारका सदस्यहरुको रोजगारी, छोरीछोरीको शिक्षा र पालनपोषणको जिम्मा लिन, मृतककी श्रीमतीलाई रोजगारी र बुवाआमाको पालनपोषणको जिम्मेवारी र छोरीलाई निःशुल्क उच्च शिक्षाको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भनिएको छ ।
यस्तै, उचित क्षतिपूर्ति उपलब्ध गराउन, गणेशले आत्मदाह गरेको स्थललाई ‘शहिद गणेश नेपाली चोक’ नामाकरण गर्न र स्वदेशी तथा विदेशी राइड सेयरिङ एपहरुलाई नियमन गर्ने स्पष्ट कानुन निर्माण गर्न माग राखिएको छ ।
महानगरपालिकाले राहतस्वरुप यथोचित रकम परिवारलाई उपलब्ध गराउनेलगायत प्रक्रिया अघि बढाउने विषयमा सहमतिको खाका बनेको छ ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेशले मोटरसाइकलमा ह्वील लकपछि राहदानी विभागअगाडि पेट्रोल खन्याएर आत्मदाह गरेका थिए । उनको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।





