काठमाडौं । कलाकार निर्माता दीपकराज गिरीले बालेन्द्र शाह बालेन सरकारको एक विकेट भएको टिप्पणी गरेका छन् । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएपछि गिरीले बालेन सरकारको एक विकेट पतन भएको टिप्पणी गरेका हुन् ।

पार्किङमा राखिएको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएर एक हजार जरिवानाको चिट काटेपछि गणेशले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृथ्यु भएको हो । उनको मृत्युपछि सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ ।

यसै सन्दर्भमा कलाकार गिरीले फेसबुकमा एक पोस्ट लेख्दै सरकारको आलोचना गरेका छन् । उनले गणेश नेपालीको मृत्युको दोषी सरकार रहेको आशय व्यक्त गर्दै लेखेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’ गणेशको मृत्यु सरकारको निर्मम नीति–नियमकै कारण भएको उनको आशय देखिन्छ ।

ADVERTISEMENT

अर्का कलाकार सीताराम कट्टेल धुर्मुसले पनि फेसबुकमा स्टाटस लेख्दै गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली । लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् ।’
धुर्मुसले देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । उनी लेख्छन्, ‘फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था नआओस् ।’

ADVERTISEMENT