काठमाडौं । त्रिपुरेश्वरमा बुधबार आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि शुक्रबार बिहान ११ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
बुधबार राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।

वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए । नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भनाइ थियो । चिकित्सकहरूले नेपालीको ६० प्रतिशत शरीरका अंग जलेको बताएका छन् ।
शुक्रबार बिहान अस्पतालले गणेश दाजु मदन नेपालीलाई साथै राखेर पत्रकार सम्मेलन गरेको थियो । मदन पत्रकार सम्मेलनमै भक्कानिए । ‘दाइ मेरो गल्ती थिएन है, बाबाममीलाई राम्रोसँग सम्हाल्नु भन्यो, त्यसपछि उसको बोली बन्द भइहाल्यो,’ मदनले भने ।
मदनका अनुसार हिजो दिउँसो ३ बजे प्रहरीले फोन गरेर भाइले आत्मदाहको प्रयास गरेको बारे जानकारी दिएका थिए ।
गणेश नेपाली गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा सहभागी रहेको अभियन्ता रक्षा बमले जानकारी दिएकी छन् । ‘आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको रहेछ। उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए। आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ,’ बमले भनेकी छन् ।











