काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी गम्भीर रूपमा जलेका २५ वर्षीय गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको छ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सकसँग घाइतेको स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिँदै आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा नेपालीलाई थप उपचारका लागि भारत पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
२५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए। घटना पश्चात् उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।






