खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको घटनामा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी ५२ वर्षीया श्रीमती भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्की रहेका छन्। खुकुरी प्रहारबाट ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार मुख्य आरोपित तीलकबहादुरलाई घटनालगत्तै पक्राउ गरिएको थियो भने उनकी श्रीमती र छोरीलाई शुक्रबार मृतकका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानमा ध्रुव अधिकारी मजदुरी गरेको पारिश्रमिक माग्न तीलकबहादुरको घर पुगेका बेला आर्थिक कारोबारको विषयमा विवाद भएको र त्यसक्रममा तीलकबहादुरले खुकुरी प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमै अधिकारीको मृत्यु भएको थियो।

ADVERTISEMENT

घटनापछि तीलकबहादुर स्वयंले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। प्रहरीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान गरिरहेको जनाएको छ।

शव परीक्षणपछि ध्रुव अधिकारीको शव आफन्तको जिम्मा लगाइएको छ।