काठमाडौं । बाढी, पहिरोलगायत जल तथा मौसमजन्य विपद्को पूर्वसूचना प्रभावकारी रूपमा प्रवाह गर्न नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुवै पक्षले विगतदेखि सञ्चालनमा रहेको एसएमएसमार्फत पूर्वसूचना सेवा आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

सम्झौताअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोड प्रयोग गरी वर्षा, बाढी, आकस्मिक बाढी, पहिरो, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमताल विस्फोट, डढेलोलगायत प्राकृतिक विपद्को पूर्वसूचना एसएमएसमार्फत पठाइनेछ।

ADVERTISEMENT

यसका लागि जल तथा मौसम विज्ञान विभागले नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रका नक्सा, एसएमएस पोलिगन र आवश्यक भौगोलिक विवरण नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। पश्चिम राप्ती, कन्काई, कोसी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायत नदी तटीय क्षेत्र यस प्रणालीमा समेटिएका छन्।

ADVERTISEMENT

नेपाल टेलिकमले यो सेवा विगतदेखि निःशुल्क उपलब्ध गराउँदै आएको छ। अब विभागलाई थप १०० सहित कुल ८०० वटा डाटा सहितका सिमकार्ड निःशुल्क उपलब्ध गराइनेछ। नेपाल टेलिकम र विभागले २०७३ सालदेखि संयुक्त रूपमा मौसमजन्य विपद्को पूर्वसूचना सेवा सञ्चालन गर्दै आएका छन्।

ADVERTISEMENT