काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। विशेषगरी पश्चिम नेपालमा तुलनात्मक रूपमा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज देशभर पूर्णतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

ADVERTISEMENT

विभागले कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर बदली रहने र पहाडी तथा तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। राति कोसी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

ADVERTISEMENT

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन सक्रिय भए पनि न्यूनचापीय रेखाको अवस्थाका कारण अहिले पश्चिम नेपालमा बढी र पूर्वी तराईमा कम वर्षा भइरहेको छ। उनका अनुसार यो अवस्था यस साताभर कायम रहने सम्भावना रहेको छ।