काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन काठमाडौं प्लाजामा माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ।
बुधबार आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता ढंगालले ल्याबको उद्घाटन गर्दै आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमन थप प्रभावकारी बन्ने बताइन्।
उनका अनुसार यसअघि आफ्नै ल्याब नहुँदा खाद्य वस्तुको परीक्षण प्रतिवेदन आउन ढिलाइ हुने भएकाले अनुगमन प्रभावित हुने गरेको थियो। अब प्रारम्भिक परीक्षण महानगरकै प्रयोगशालाबाट गर्न सकिने भएकाले अनुगमनलाई तीव्र, सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
कार्यवाहक प्रमुख ढंगालले महानगरले बजार अनुगमनसँगै व्यवसायीलाई खाद्य सुरक्षाबारे सचेतना पनि दिँदै आएको जानकारी दिइन्। हालसम्म ३ हजारभन्दा बढी व्यवसायीलाई फुड सेफ्टी बुट क्याम्पमार्फत खाद्य सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको उनले बताइन्।






