काठमाडौँ, असोज १३ । चामल उद्योगीहरूले सरकारसमक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता जनाएको दुई साता बित्न लाग्दा पनि त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउन सकेका छैनन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चामल उद्योगीबीच भदौको अन्तिम साता भएको छलफलमा प्रतिबोरा चामलको मूल्य १२५ देखि २०० रुपैयाँसम्म घटाउने सहमति भएको थियो। तर, उद्योगीले प्रतिबद्धता जनाएअनुसार बजारमा मूल्य नघट्दा उपभोक्ता अझै महँगो चामल खरिद गर्न बाध्य छन्।

ADVERTISEMENT

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मन्त्रालय र विभागमा उद्योगी तथा व्यापारीसँग भएका छुट्टाछुट्टै छलफलमा मूल्य घटाउने सहमति भएको थियो। तर, बजार अनुगमनका क्रममा भने त्यसअनुसार मूल्य घटेको नपाइएको विभागका निर्देशक अनिल किराँतीले बताएका छन्।

ADVERTISEMENT

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला तीन महिनादेखि लगातार बढेको चामलको मूल्य अहिलेसम्म उल्लेख्य रूपमा घटेको छैन। सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले चामलको मूल्य घटाउने कुरा भए पनि त्यसको प्रभाव बजारमा नदेखिएको बताए।

उनका अनुसार सरकारसमक्ष मूल्य घटाउने प्रतिबद्धता जनाएको १३–१४ दिन बितिसक्दा पनि उपभोक्ताले राहत नपाउनु चिन्ताको विषय हो। प्रतिबद्धताअनुसार मूल्य नघटेपछि नियमनकारी निकायले प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ।

ADVERTISEMENT

तीन महिनामा प्रतिबोरा पाँच सयसम्म बढ्यो

चामलको मूल्य बढ्नुमा उद्योगी तथा व्यापारीले भारतमा धानको मूल्य वृद्धि, चामल निर्यातमा भारतले लगाएको नीतिगत कडाइ, ढुवानी समस्या तथा यातायात खर्च बढेको कारण देखाउँदै आएका छन्।

असारदेखि भदौ अन्तिमसम्मको अवधिमा उद्योगदेखि खुद्रा बजारसम्म आइपुग्दा २५ किलोको चामलमा चार सयदेखि पाँच सय रुपैयाँसम्म मूल्य बढेको बताइएको छ।

यसअघि करिब दुई हजारदेखि दुई हजार तीन सय रुपैयाँसम्ममा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले बढेर करिब दुई हजार पाँच सयदेखि दुई हजार सात सय रुपैयाँसम्म पुगेको छ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पनि मूल्य नियन्त्रण हुने मुख्य तहमा प्रभावकारी अनुगमन हुन नसकेको बताएका छन्। उनका अनुसार खुद्रा पसलमा मात्र अनुगमन गर्दा बजार मूल्य नियन्त्रणमा अपेक्षित परिणाम आउन नसक्ने देखिएको छ।

ढुवानी सहज भएपछि मूल्य घट्ने दाबी

थोक विक्रेताहरूले भने ढुवानीको असहजताका कारण तत्काल मूल्य घटाउन नसकिएको बताएका छन्। सडक मर्मत तथा वैकल्पिक मार्ग सञ्चालनमा आएपछि ढुवानी खर्च घट्ने र त्यसको प्रभाव चामलको मूल्यमा देखिने उनीहरूको भनाइ छ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार पृथ्वी राजमार्ग पूर्ण रूपमा सहज भएपछि चामलको मूल्य बिस्तारै घट्नेछ।

उनका अनुसार आगामी केही दिनभित्र अधिकांश ब्रान्डका चामलको मूल्य प्रतिबोरा ७५ देखि १२५ रुपैयाँसम्म घट्न सक्नेछ।

तर बजारमा पहिले नै महँगो मूल्यमा खरिद गरिएको चामलको मौज्दात रहेकाले नयाँ मूल्य तत्काल लागू हुन समय लाग्ने उनको भनाइ छ। उद्योगबाट थोक विक्रेतासम्म र त्यसपछि खुद्रा बजारमा नयाँ मूल्यको चामल पुग्न कम्तीमा एक साता लाग्न सक्ने उनले बताए।

उद्योगीहरूले प्रतिबोरा १२५ देखि २०० रुपैयाँसम्म मूल्य घटाएको बताउँदै आए पनि उद्योगीहरूले ठ्याक्कै कति मूल्य घटाउने भन्ने स्पष्ट प्रतिबद्धता नगरेको श्रेष्ठको दाबी छ। यद्यपि दसैँ, तिहार र छठसम्म चामलको मूल्य थप नबढाउने विषयमा उद्योगी सहमत भएको उनले जानकारी दिए।

नयाँ धान बजारमा आएपछि थप घट्ने दाबी

उद्योगीहरूले नयाँ धानको सिजन सुरु भएपछि चामलको मूल्य थप घट्ने दाबी गरेका छन्। एकदेखि डेढ महिनाभित्र नयाँ धान बजारमा आउने र त्यसपछि चामलको मूल्य प्रतिबोरा १० देखि १५ प्रतिशतसम्म घट्न सक्ने उनीहरूको भनाइ छ।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अनुसार नयाँ सिजनको धान बजारमा आएपछि मात्रै उपभोक्ताले चामलको मूल्यमा उल्लेख्य राहत पाउनेछन्।

विभागका निर्देशक किराँतीका अनुसार बजारमा महँगो मूल्यमा खरिद गरिएको पुरानो मौज्दात धेरै रहेकाले तत्काल मूल्य घट्न नसकेको उद्योगी तथा व्यापारीबाट जानकारी आएको छ। पुरानो मौज्दात सकिएर नयाँ मूल्यमा खरिद हुन थालेपछि बजार मूल्य घटाउने उनीहरूको भनाइ रहेको विभागले जनाएको छ।

तेल र दालको मूल्य पनि घट्ने अपेक्षा

चामलसँगै खानेतेल र दालको मूल्यले पनि उपभोक्तालाई प्रभावित गरेको छ। यद्यपि चामलको तुलनामा दाल र तेलको मूल्यमा अस्वाभाविक तथा उच्च वृद्धि नभएको विभागको दाबी छ।

ढुवानीको समस्या केही सहज भएको तथा अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य स्थिर हुन थालेकाले खानेतेल र दाल उद्योगीले पनि चाडपर्व लक्षित छुट तथा मूल्य कटौती गर्ने प्रतिबद्धता जनाएको विभागले जनाएको छ।

अब चाडपर्वको समयमा चामल, दाल र खानेतेलको मूल्य घटाउने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयमा उपभोक्ताको चासो बढेको छ।