काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस नेतृत्वको सरकार बने भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि प्रधानमन्त्री र मन्त्री बनेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने घोषणा गरेका हुन्।

उनले भने, “देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। कांग्रेस नेतृत्वको सरकारले पहिलो काम नै शक्तिशाली आयोग गठन गर्नु हुनेछ। त्यस आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पत्तिदेखि मन्त्री भइसकेका मेरो आफ्नै सम्पत्तिसम्म छानबिन सुरु गर्छ।” उनले कसैलाई पनि नछोड्ने स्पष्ट पार्दै “आफ्नो बा भए पनि छोड्दैनौं” भन्ने अभिव्यक्ति दिए।

ADVERTISEMENT

थापाले विगतका प्रत्येक भ्रष्टाचार काण्डको अनुसन्धान गरिने र भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने गरी कानुनी र संस्थागत संरचना बलियो बनाइने बताए। उनका अनुसार सुशासनका लागि केवल नाराबाजी नभई विधि, प्रक्रिया र पारदर्शितामार्फत परिणाम देखाइनेछ।

सभामा उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योग क्षेत्रमा पाँच वर्षभित्र व्यापक सुधार ल्याउने प्रतिबद्धता पनि जनाए। “हामी चावुक चलाएर होइन, कसैलाई झुण्ड्याएर होइन, नियम र कानुनभित्र रहेर परिवर्तन ल्याउँछौं,” उनले भने। आवश्यक कानुन संशोधन, नयाँ संस्था गठन र प्रभावकारी कार्यान्वयनमार्फत रूपान्तरण सम्भव हुने उनको विश्वास छ।

ADVERTISEMENT

त्यस्तै, थापाले एक्लो प्रयासले देश नबन्ने उल्लेख गर्दै सबै राजनीतिक दलसँग सहकार्य अपरिहार्य रहेको बताए। आफूलाई प्रधानमन्त्री बन्ने अवसर मिले एमाले, माओवादी, रास्वपालगायत सबै दलसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे। संविधान संशोधनदेखि विकास निर्माणसम्मका काममा व्यापक सहमति आवश्यक पर्ने उनको धारणा थियो।

सामाजिक सञ्जालमा घृणा फैलाएर लोकप्रियता कमाउने प्रवृत्तिको आलोचना गर्दै उनले प्रेम, सहकार्य र सिर्जनशील राजनीतिक संस्कारको खाँचो औंल्याए। “देश एक्लैले बन्दैन, एक्लैले चल्दैन। सबै दल, सातै प्रदेश र हजारौं जनप्रतिनिधिको सहकार्यमा मात्रै समृद्ध नेपाल निर्माण सम्भव छ,” उनले भने।

थापाले निर्वाचनलाई प्रतिस्पर्धाको अवसरका रूपमा लिन आग्रह गर्दै मतदातासँग विश्वासको मत मागेका छन्।