काठमाडौँ । नेकपा एमालेले भोटेकोशी बाढीबाट सिर्जित सङ्कटको सामना गर्न र प्रभावकारी व्यवस्थापनका लागि सरकारलाई ८ बुँदे सुझाव दिएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारका लागि ठोस प्रस्तावहरू राखेका हुन् ।

सदनलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले आफ्नो काम गर्ने एकाङ्गी शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने र संसद्प्रति पूर्ण उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले सरकारले आफ्ना योजना र प्रगतिबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने बताए ।

ADVERTISEMENT

एमालेका ८ सुझावहरू

ADVERTISEMENT

१.प्रधानमन्त्रीको कार्यशैलीमा सुधार र उत्तरदायित्व : प्रधानमन्त्रीले आफ्नो काम गर्ने एकाङ्गी शैली त्यागी संसद्प्रति पूर्ण उत्तरदायी बन्नुपर्ने र सरकारका योजनाबारे सदनलाई नियमित जानकारी गराउनुपर्ने ।

२.सर्वपक्षीय संयन्त्रको निर्माण : राष्ट्रिय सहमतिबाट मात्र सङ्कटको सामना गर्न सकिने भएकाले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित ‘सर्वपक्षीय सर्वदलीय संयन्त्र’ बनाउन पहल गर्नुपर्ने ।

ADVERTISEMENT

३. विशेष संसदीय समिति गठन : सरकारलाई विपद् व्यवस्थापनमा सचेत गराउन र आवश्यक सहयोग पुर्‍याउन सभामुखको पहलमा ‘विशेष संसदीय समिति’ गठन गर्नुपर्ने ।

४. अन्तर्राष्ट्रिय समन्वय कार्यदल : अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा ‘विशेष कार्यदल’ गठन गर्नुपर्ने ।

५. युनिफाइड स्पेसल टास्कफोर्स : युद्धस्तरमा खोज, उद्धार र राहत कार्य सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा ‘युनिफाइड स्पेसल टास्कफोर्स’ बनाउनुपर्ने ।

६. पुनर्निर्माण कार्यदल : बाढीबाट ध्वस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा ‘विशेष कार्यदल’ गठन गरी काम अघि बढाउनुपर्ने ।

७. सगरमाथा संवादको दोस्रो संस्करण : जलवायु परिवर्तनबाट उत्पन्न परिस्थितिको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन र रणनीति तय गर्न ‘सगरमाथा संवाद’ को दोस्रो संस्करण तत्काल सुरु गर्नुपर्ने ।

८. सामूहिक र सङ्गठित प्रयास : विपद्को यो घडीमा छरिएर होइन, सामूहिक र सङ्गठित प्रयासबाट मात्रै सङ्कटको सामना गर्न सकिने भएकाले सोही अनुसारको सरकारी तत्परता हुनुपर्ने ।

नेता थापाले सामूहिक शक्तिबाट मात्रै यो महाविपत्तिलाई परास्त गर्न सकिने भन्दै सरकारले यी सुझावहरूलाई गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सङ्कटको समयमा प्रतिपक्ष सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे ।