काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ ।

आर्थिक वर्ष २०८३–८४ को बजेट आउनुअघिको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको छ । चार उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार चार अर्ब ८५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । आज ३५४ स्टकको ६० हजार ५६२ पटकको कारोबारमा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको एक करोड ५२ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावरको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत बढेको छ। बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।

अब सेयर बजार लगातार चार दिन बन्द हुने भएको छ । भोलि र पर्सी सरकारी बिदा त्यसपछिका दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले चार दिन सेयर बजार बन्द हुने भएको हो ।

जेठ १४ मा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ ।