काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ६ पदाधिकारीका लागि बिहीबार राति मतदान हुने भएको छ । रास्वपाको निर्वाचन आयोगले पाँचौंपटक निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै बिहीबार राति सवा ७ बजेसम्म उम्मेदवारी मनोनयन र त्यसको दुई घन्टापछि मतदान हुने जनाएको छ ।
रास्वपामा दुई उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री र एक प्रवक्ताको निर्वाचन हुँदैछ । उपसभापतिमा डा. स्वर्णिम वाग्ले, महिला उपसभापतिमा समीक्षा बास्कोटा, लिमा अधिकारी, इन्दिरा राना मगर र प्रतिभा रावललगायतले दाबी गरेका छन्।
महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, मनीष झा, विपिन आचार्य, दीपक बोहोरा र सोबिता गौतम आकांक्षी छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन आफ्नो पक्षका पदाधिकारी मनोनयन गर्ने र बाँकीमा सभापति रवि लामिछाने पक्षका नेताहरूलाई पदाधिकारीमा लडाउन सफल भएका छन् । बालेन निकट धेरै नेताले उम्मेदवारी दिएका छैनन् ।
१९ पदाधिकारीमध्ये दुई तिहाइ मनोनीत गर्ने भएपछि बाँकी ६ जनाका लागि निर्वाचन नगर्न दबाब परेको छ । स्रोतका अनुसार सहमतिमा पदाधिकारी चयन गरी सभापति लामिछानेले नाम पढ्ने तयारी गरिरहेको महाधिवेशनमा सहभागी एक नेताले बताए ।
गत असार ७ गतेदेखि चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन अव्यवस्थित र भद्रगोल बनेको छ । महाधिवेशन लम्बिएपछि एक हजार तीन सय ५२ जना प्रतिनिधि भोट नै नहाली घर फर्किएका छन् । आज केन्द्रीय सदस्यमा भोट हालेका अधिकांश प्रतिनिधि घरतर्फ लागिसकेका छन् ।
९९ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार हजार ३११ प्रतिनिधिमध्ये २९ सय ५९ मतमात्र खसेको छ ।






