काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुक्रबारबाट सुरू भएको छ । बैठक प्रारम्भ हुनुअघि नै सहभागिताको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार अधिकार प्राप्त नभएका व्यक्तिहरूलाई समेत सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टीभित्रका असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका छन्।
गत फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिलाई बैठकमा बोलाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। उद्घाटन सत्रमा पूर्वअध्यक्ष पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, अध्यक्ष कमल थापा, वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डेलगायतको कुर्सी खाली छन्।
केही दिनअघि मात्रै राप्रपा महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष दिलविकास भण्डारी, श्याममुकुन्द गिरीसहित १८७ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेका थिए । राणा, थापा, लोहनी, पाण्डेलगायतको बहिष्कारले लिङ्देन निकै ठूलो दबाबमा परेका छन् ।







