काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कुलेश्वरस्थित श्री कुलेश्वर माध्यमिक विद्यालयका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।
बैंकको कुलेश्वर शाखामार्फत आयोजित कार्यक्रममा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन्।
बैंकले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामग्री, स्कुल ब्याग, स्कुल ड्रेस, हाउस ड्रेस, जुत्तालगायत आवश्यक सामग्री वितरण गरेको जनाएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त विष्टले विद्यालयका विपन्न विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए।
सामग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए। आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






