काठमाडौं । जेनजी प्रतिनिधसँग आज वार्ता हुने भएको छ ।
जेनजी युवाको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ ।
नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा आज वार्ता हुुन लागेको हो । विभिन्न समूहमा रहेका जेनजी प्रतिनिधिले हिजो राति प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेर आफ्ना कुराहरु राखेका छन ।
राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।
यसपछि नेपाली सेनाले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति समेत सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो ।
सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठिक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो ।








