काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिले बालगृह, हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्र तथा वृद्धाश्रमहरूको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ।

आज बसेको समितिको बैठकले असार १० देखि १४ गतेसम्म तीन टोली बनाएर बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका बालसुधार गृह र सेवा केन्द्रहरूको अनुगमन गर्ने तयारी गरेको हो।

ADVERTISEMENT

सभापति आकृति अवस्थीले अनुगमनपछि आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गरिने जानकारी दिइन। समितिका सचिव इन्द्रविलास पौडेलले टोलीहरू विभिन्न स्थानमा पुगेर बालबालिका, महिला तथा वृद्धहरूको अवस्था अध्ययन गर्ने र प्रत्यक्ष अवलोकनमार्फत तथ्याङ्क संकलन गर्ने योजना रहेको बताए।

यस अनुगमनबाट बालगृह, महिला सेवा केन्द्र तथा वृद्धाश्रममा देखिएका समस्या समाधानका लागि नीतिगत तथा संरचनागत सुधारका सुझाव सरकारलाई पेस गरिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT