काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको आश्वासनपछि सेयर बजारमा हरियाली छाएको छ । बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएको एक सातापछि सेयर बजारमा हरियाली छाएको हो ।
सोमबार ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेट गर्दै अर्थमन्त्री वाग्लेले सेयर बजारलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका थिए । भेटमा अर्थमन्त्री वाग्लेले वर्तमान सरकार निजी क्षेत्र र पूँजीबजार मैत्री रहेको आश्वासन दिँदै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन र अन्य अनैतिक कार्य नगरेमा प्यानिक हुनु नपर्ने बताएका थिए । त्यसको प्रभाव यस दिनको बजारमा परेको जानकारहरु बताउँछन् ।
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लेको छ । आइतबार १०५ अंकभन्दा बढी घटेर बन्द भएको थियो ।
नेप्से बढे पनि यस दिनको भोल्यूम, अघिल्लो दिनको तुलनामा कम रहेको छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४५ स्टकको एक लाख २४ हजार ९३ पटकको कारोबारमा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको दुई करोड ५१ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
रिलायन्स स्पिनिङ मिल्स कम्पनीको एक अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ ।
आज आठ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशत बढेको छ । बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।










