गृहमन्त्री सुदन गुरुङले आइतबार महोत्तरीको मटिहानी नगरपालिका अन्तर्गतको मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले सीमास्तम्भको अवस्था, सीमा सुरक्षा व्यवस्थापन तथा सीमापार आवागमनबारे जानकारी लिनुभएको हो।

सीमावर्ती बजारसमेत रहेको मटिहानी क्षेत्रमा पुग्नुभएका गृहमन्त्री गुरुङले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्दै सीमामा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिनुभएको छ।

ADVERTISEMENT

उहाँले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुका साथै सीमा सुरक्षामा थप समन्वय, सतर्कता र प्रभावकारी परिचालनमा जोड दिनुभएको हो।

ADVERTISEMENT

पछिल्लो समय मधेसका केही जिल्लामा दुई समुदायबीच देखिएको तनावका बीच गृहमन्त्री गुरुङले मटिहानीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको लक्ष्मीनारायण मठमा पूजा–अर्चना गर्नुभएको थियो। साथै मुस्लिम समुदायको आस्थाको केन्द्र पीरबाबाको मजारमा चादर अर्पण गर्दै धार्मिक सद्भावको सन्देश दिनुभएको छ।

गृहमन्त्रीलाई मटिहानी आगमनका क्रममा नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको टोलीले स्वागत गरेको थियो। त्यसपछि उहाँ जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको थियो। सीमा निरीक्षण र धार्मिकस्थल भ्रमणका क्रममा भने उहाँले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिनुभएको छैन।