काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन मेयर हुँदा शुक्रबार वा शनिबार राति राति फेसबुकमा स्टाटस लेखेर चर्चामा आउँथे । प्रधानमन्त्री बनेपछि त्यो क्रम अलि पातलो भएको छ । बालेनको सामाजिक सञ्जाल फेसबुकमा दुईवटा आधिकारिक पेज छन् । एउटा बालेन फेरिफाइड र अर्को बालेन शाह भन्ने पेज छ ।
शनिबार मध्यराति उनले बालेन शाह फेसबुक पेजमा लेखेको व्यङ्ग्यात्मक स्टाटसबारे अहिले प्रतिक्रिया तीव्र पाइरहेको छ । उनले राजदूत पदमा नियुक्तिका लागि आफूलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करप्रति कटाक्ष गर्दै स्टाटस लेखेका हुन् ।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न ।’
बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए । त्यसमा उनले प्रधानमन्त्री शाहलाई ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ आशय उल्लेख गरेका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई प्रहरी लगाएर पक्राउ गराएको थियो ।
त्यही कारण सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । म्यासेज लेखेकै आधारमा सचिव पक्राउको घटनाबारे पनि पक्ष विपक्षमा बहस जारी छ । यही क्रममा बालेनले लेखेको स्टाटसको विषयमा पनि व्यापक टीकटीप्पणी भइरहेको छ ।
प्रधानमन्त्री स्टाटस लेख्ने, मन्त्री र रास्वपाका सांसदहरू त्यसमा कमेन्ट गर्ने गरेर देशमा केही नभएको जस्तो गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उछितो काढेका छन् । अधिकांशले प्रधानमन्त्री आफैंले आफ्नो नम्बर मागेर हाँसीमजाकको विषय बनाएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री जस्तो कुर्सीमा बसेको व्यक्तिले यसरी हलुका ढंगले स्टाटस लेख्नु शोभनीय नभएको भन्दै आलोचना भइरहेको छ ।
मोबाइलमा म्यासले लेखिएको विषयलाई लिएर प्रधानमन्त्रीले सामाजिक सञ्जालमा गाईजाज्ञा देखाएकोमा धेरैलाई कति पनि मन परेको छैन ।
भारतसँगको सीमासम्बन्धी अभिवयक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन् ।
सभामुखले जेठ २५ गतेसम्म ससद् बैठक स्थगित गरेका छन् । अहिलेसम्म संसद् सुचारु गराउन कुनै पहलकदमी लिइएको छैन । होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीले उपचार नपाएर मृत्युवरण गर्नुपरिरहेको छ । तर प्रधानमन्त्री भने एकजना सचिवलाई खुइल्याउन सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस लेखेर समय खेर फालिरहेका छन् ।







