काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक विवाद र नाराबाजीका बीच तनावपूर्ण बनेको छ। कलैयास्थित कार्यक्रममा पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएपछि केही समय स्थिति नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको थियो।
कलैयाको करणराज होटलमा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी , गणेश धिमाल , अरविन्द साह र चन्दन सिंह सहभागी थिए। बैठकका क्रममा केही कार्यकर्ताले चर्को विरोध जनाउँदै नाराबाजी गरेका थिए।
विवादको मुख्य कारण जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको विषय रहेको बताइएको छ। स्वर्णकार समर्थक कार्यकर्ताहरूले उक्त निर्णयको विरोध गर्दै नेतृत्वले आफू निकटका व्यक्तिहरूलाई मात्र समेटेर जिल्ला समिति गठन गर्न खोजेको आरोप लगाएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार बैठकमा आरोप–प्रत्यारोप चर्किएपछि कार्यकर्ताहरू आक्रोशित बनेका थिए। केहीले सांसदहरूमाथि हातपातको प्रयाससमेत गरेको जनाइएको छ। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।
यद्यपि, सांसद गणेश धिमालले विरोधका बाबजुद पार्टीको निर्धारित कार्यक्रम जारी रहेको बताएका छन्। तनाव बढेपछि कार्यक्रमस्थल वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
निष्कासित नेता चन्दन स्वर्णकारले भने पार्टीका पुराना कार्यकर्ताको भावना बेवास्ता गर्दै सीमित समूहको प्रभावमा संगठन सञ्चालन गर्न खोजिएकाले विरोध भएको दाबी गरेका छन्।












